- कौशिला कुँवर

काठमाडौं। पछिल्लो समय कृषि योग्य जमिन सहरीकरण भएपछि काठमाडौं उपत्यकावासी कौसी खेतीमा आकर्षित भएका छन् । महँगोमा किन्दा पनि विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासी अहिले कौसी खेतीमा आकर्षित भएका हुन् ।

बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाइँदा आप्mनै छतमा तरकारी उत्पादन गरेर खान थालका छन् । यस्तै, भक्तपुरको लोकन्थली घर भएका महेश शाक्यले आप्mनै घरमा कौसी खेती गरेर राम्रो उत्पादन गर्दै आएका छन् । महेश शाक्यले बजारमा विषादीयुक्त तरकारी आउन थालेपछि आफूले कौसी खेती गर्न थालेको बताए । शाक्यको भनाइअनुसार कौसी खेतीमा राम्रो उत्पादन हुन्छ ।

कौसी खेती थालेपछि बजारबाट कुनै पनि तरकारी किन्नु नपरेको शाक्य बताउँछन् । गोलभेडा, सिमी, खुर्सानी, प्याज, धनियालगायतका विभिन्न तरकारी उत्पादन गर्ने उनी बताउँछन् । कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै घरको फोहोर व्यवस्थापन हुने र पैसासमेत बच्ने शाक्यको भनाइ छ । घरका छत लुगा सुकाउनका लागि मात्र नभएर तरकारी खेती गरेर राम्रो उत्पादन गर्न सक्ने उनले बताए । सबैले कौसी खेती गरे बाहिरी देशबाट करोडौं मूल्यको आयात हुने तरकारी कम गर्न सक्ने शाक्यको भनाइ छ ।

सहरवासीको कौसी खेतीमा आकर्षण हुँदै गर्दा स्थानीय सरकारले पनि कौसी खेतीलाई प्राथामिकता दिएको छ । प्रदेश ३ ललितपुर कृषि ज्ञान केन्द्रले प्रांगारिक कौसी खेतीका लागि मात्र २ करोड रुपैयाँ छुट्याएको छ ।

ज्ञान केन्द्रका प्रमुख निर्मल गदालले कृषियोग्य जमिन मासिएर गएपछि कौसी खेतीलाई प्राथमिकता दिएको बताए । प्रमुख गदालले कौसी खेतीले घरबाट निस्केको फोहोर व्यवस्थापन हुने र कृषि उत्पादन बढाउन सक्ने भएकाले कौसी खेतीलाई प्राथामिकता दिएको बताए। गदालका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा करिब १ लाख छतमा कौसी खेती गर्न सकिन्छ । कृषियोग्य जमिन नहुँदा घरको छतमा कौसी खेती गरेर कृषि उत्पादन बढाउन सक्ने गदालको भनाइ छ । उनले कौसी खेतीको उत्पादनले बाहिरबाट आयात हुने कृषिजन्य वस्तु कम गर्न सक्ने बताए।

गदालले चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले विभिन्न कार्यक्रमका लागि करिब ११ करोड बजेट विनियोजन गरेको बताए। चालू आर्थिक वर्षमा काठमाडौंमा चिया, कफी, फलफूल, पुष्प र तरकारी उत्पादन वृद्धि गर्ने कार्यक्रमका लागि ३ करोड बजेट छुट्याएको बताए । सो कार्यक्रममार्फत किसानलाई ५० प्रतिशत अनुदान दिने कार्यक्रम रहेको उनको भनाइ छ । यसैगरी, प्रांगारिक कौसी खेतीका लागि २ करोड र एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रमका लागि ३ करोड १५ लाख बजेट छुट्याएको उनले बताए ।

उनले एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रम आयोजना तीन वर्षको हुने उनको विचार रहेको छ । ज्ञान केन्द्रका प्रमुख गदालले सो आयोजनाले कृषकलाई पहिलो वर्ष ८० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत अनुदान दिन कार्यक्रम रहेको बताए ।

ज्ञान केन्द्रका प्रमुख गदालले कृषि ज्ञान केन्द्रले कृषि विकास लागि विभिन्न कृषि परियोना कार्यक्रम सञ्चालन गरिरहेको र केन्द्रले प्रांगारिक कृषि आयोजना, रैथाने बाली आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कृषि यान्त्रिकीकरण आयोजनालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र सो कार्यक्रमका लागि गत आर्थिक वर्षमा ११ करोड बजेट विनियोजन गरेको बताए ।

Title for English
प्रांगारिक कौसी खेतीमा सहरवासीको आकर्षण
Published Date
2076-04-10
Publish Date